सिमरा,नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला बिहीवारदेखि बाराको पिलुवामा सुरु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गर्नुभएको थियो ।
कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले नेतृत्व तहमा रहेका मधेसका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रीत रहन निर्देशन दिनुभएको छ । मधेसको प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताउनुभएको छ ।
‘संख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो, तर यतिले पुग्दैन’ ज्ञवालीले भन्नुभयो, ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ ।’
मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिनुभएको छ । ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताउनुभयो ।
भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुँदै बागमतीमा ल्याएर मधेसमा सिँचाई सुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको समानता नभएको भन्दै उहाँले एमाले र अन्य पार्टीहरुबीचको भिन्नता बारे प्रष्ट पार्न पनि नेतृत्व तहले गम्भीरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाई थियो ।
कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशका ८ वटै जिल्लाका पार्टी अध्यक्ष र केन्द्रीय कमिटीका सदस्यहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागीहरुलाई पुलुवा र आसपासको क्षेत्रमा रहेका एमाले कार्यकर्ताहरुको घरमा आवासको व्यवस्था मिलाइएको छ ।
