निजगढ रातोलाई पराजित गर्दै बारा एघार निजगढ मेयर गोलडकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा निजगढ रातोलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै बारा एघार सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३ मिनेटमा संजय चौधरीले गोल गर्दै बारा एघारलाई शुरुवाती अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको १८ औ मिनेटमा निजगढका श्याम कुमरले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएतापनि ३२औ मिनेटमा राजकिशोर चौधरीले गोल गर्दै पुनः बारा एघारलाई अग्रता दिलाए ।
पहिलो हाफमा पछी परेको निजगढले दोश्रो हाफमा पुनः खेललाई बराबरीमा ल्यायो । ६९औ मिनेटमा श्याम कुमरले व्यक्तिगत दोश्रो गोल गर्दै निजगढलाई २-२ को अवस्थामा पुर्याए ।
निर्धारित समय बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा निजगढका जेम्स धामीले प्रहार गरेको पेनाल्टी बारा एघारका गोलरक्षक राजिब चौधरीले बचाउ गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए ।
खेलको म्यान अफ द म्याच बारा एघारका गोलरक्षक राजिब चौधरी घोषित भए । म्यान अफ द म्याच घोषित चौधरीले दुई हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार हरिवन फुटबल क्लव सर्लाही र नवजनजागृति युवा क्लव सिमरा बारा बीच प्रतिस्पर्धा हुनेछ ।
निजगढ स्थित कछाडीया खेल मैदानमा हुने खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय