निजगढ,
निजगढ नगरपालिकाको सीमानाभित्र पर्ने भएपनि हाल हेटौडा उपमहानगरपालिकामा रहेका दुई वटा बस्तिलाई निजगढमा सामेल गराउन पर्ने माग उठेको छ ।
बारा जिल्लाको सीमा क्षेत्रभित्र पर्ने हेटौडा उपमहानगरपालिकाको आकासधारा र पानीसरा बस्तिलाई निजगढ नगरपालिकामा कायम गरिनुपर्ने निजगढका लेखापढी व्यवसायी बद्री बडालले माग गर्नुभएको छ ।
साविक मकवानपुर जिल्लाको हटिया गाउँ पन्चायत वडा नम्बर ८ को उक्त बस्तिलाई नेपाल सरकारले २०३५ सालमा राजपत्रमा सूचना प्रकाशित गरेर बाराको मनहर्वा गाउँ पन्चायतमा समावेश गर्न गरेको निर्णयको आधारमा उक्त बस्तिलाई निजगढमा गाभ्नु पर्ने बडालको भनाइ छ ।
सो राजपत्रमा हटियाको आकासधारा, पानीसारा र डम्बरपुरलाई बाराको साविक मनहर्वा गाउँ पन्चायतमा गाँभ्नेसंगै मकवानपुरकै रातोमाटे गाउँ पन्चायत वडा नम्बर १ को विरेदमारलाई अमलेखगन्जमा समावेश गर्ने सूचना जारी भएको थियो ।
सोही सूचनाअनुसार त्यतिबेला हटियामा रहेको डम्बरपुर मनहर्वा र रातोमाटेको विरेदमार पनि अमलेखगन्ज गाउँपन्चायतमा गाभिएको भएपनि हाल निजगढमा पर्ने आकासधारा र पानीसरा बस्तिका बासिन्दाले अझै पनि मकवानपुरको हेटौडाबाट सरकारी र अन्य सेवा सुविधा लिदैआएका छन ।
मनहर्वा गाउँ पन्चायत विभाजन भएर रतनपुरी गाउँपन्चायत गठन भएको र रतनपुरी पनि हाल निजगढ नगरपालिकामा परेपछि चुरे क्षेत्रमा पर्ने उक्त बस्तिहरु राजपत्रको सूचना अनुसार निजगढ नगरपालिका क्षेत्रभित्र पर्ने बडालको भनाइ छ । आफ्नो नगरपालिकाको सीमाभित्र पर्ने बस्ति कायम गर्न निजगढ नगरपालिकाले पहल सुरु गर्नुपर्ने बडालले बताउनुभयो ।
त्यसैगरी निजगढका पुस्तक तथा स्टेशनरी व्यवसायी सागर थोकरले पनि सामाजिक सन्जाल फेसबुकमा टिप्पणी लेखेर राजपत्रको सूचना अनुसार निजगढ नगरपालिकाको आफ्नो भूभाग आफैले भोगचलमा ल्याउनुपर्ने बताउनुभएको छ । उक्त क्षेत्रमा बसोबास गर्ने जनता र सो क्षेत्रको जल, जमिन र जंगलको संरक्षण गर्ने कार्य तत्काल सुरु गर्न निजगढ नगरपालिका कार्यालयसंग थोकरले आग्रह र अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय