सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको हिजो बसेको बैठकको शून्य समयमा बोल्दै सांसद मैनालीले सिम्रौनगढको संरक्षण गरेर विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्नुभएको हो । उहाँले सो क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरु फेला परेकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न उपयुक्त हुने गर्नुभयो । सांसद मैनालीले भन्नुभयो, “सिम्रौनगढ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, विसं १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो । अहिले विगत छ वर्षको अन्तरालमा पोखरी खन्ने क्रममा श्रीकृष्ण र स्वामिनारायणको मन्दिर, एक हजारवर्षभन्दा पुराना पुरातात्विक संरचना फेला परेको छ । त्यसैले संरक्षित क्षेत्र घोषणा गरियोस् ।” सांसद मैनालीले सो क्षेत्रलाई प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाई गर्न नहुने पनि बताउनुभयो । ‘म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐन अन्तरगत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस्। र, विश्व सम्पदा सूचिमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय