कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१को बजेट सार्वजनिक गरेको छ । बुधवार नगरपालिकाको एघारौं नगरसभामा १ अर्ब ५४ करोड अड्तिस लाख छैसठ्ठी हजार दुई सय पचास रुपैंयाको बजेट प्रस्तुत गरिएको हो । प्रस्तावित आम्दानी तथा खर्चको सारांश पेश गरेको उपमहानगरपालिकाले ९१ करोड ९८ लाख चालु खर्च बजेट छुटटएको छ । सधारण खर्च, ससर्त अनुदान, वडा कार्यालय संचालन, साँवा ब्याज भुक्तानी र दायित्व भुक्तानी चालु खर्चबाट गर्ने जनाएको छ । यस्तै ६२ करोड ४० लाख ६६ हजार २५० रुपैयाँ पूँजिगत खर्च गर्ने गरी बजेट विनियोजन गरेको उपमहानगरपालिकाले ३९ करोड ८८ लाख ५२ हजार २५० आन्तरिक आय गर्ने प्रक्षेपण गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूँजीगत खर्चको ठुलो हिस्सा २१ करोड ६० लाख रुपैंया वडा स्तरीय योजनामा खर्च गर्ने भएको छ । यस्तै ६ करोड ७० लाख रुपैंया उसले नगरस्तरीय योजनाका लागि छुट्याएको छ । संघीय सरकारको विषेश र समपुरक गरी ४० करोड ४ लाख, प्रदेश सरकारको ३३ करोड १८ लाख ५ हजार र मालपोत कार्यालयबाट हुनसक्ने ४० करोड आयलाई उसले मुख्य आय श्रोत देखाएको छ । २७ करोड ७ लाख समानिकरण अनुदान, ५३ करोड २६ लाख ससर्त चालु अनुदान, ३६ लाख पूँजीगत अनुदान, राजश्व बाँडफाँड संघीय सरकारबाट १८ करोड ८८ लाख २९ हजार र प्रदेश सरकारबाट २ करोड ५० लाख रुपैंयालाई समेत बजेटमा आय श्रोत देखाईएको छ । उपमहानगरपालिकाले यस आर्थिक बर्षमा १७ करोड ८९ लाख ६६ हजार २५० रुपैंया दायित्व भुक्तानी गर्ने जनाइएको पनि कसलाई गर्ने भन्ने बारेमा भने खुलाएको छैन । यसैबीच उपमहानगरपालिका नगर प्रमुख विनोद साहले नगर प्रहरी परिचालन गरेर आफूहरूमाथि कुटपिट गराएको नगर सभा सदस्यहरुले आरोप लगाएका छन् । कलैयाको होटेल करण राजमा सुरु गरिएको ११औँ नगर सभाको उद्घाटन कार्यक्रममा नगर प्रहरीद्वारा कुटपिट गरिएपछि केही नगर सभा सदस्यहरूले त्यसको विरुद्ध सभा स्थल बाहिर प्रदर्शन पनि गरेका थिए । यता कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले नगर सभाको उद्घाटन सत्रमा नगर सभा सदस्यहरुले विरोध गर्नु उचित नभएको बताउनुभएको छ । ‘नगर सभा सदस्यहरुलाई कुनै कुरामा चित्त नबुझे बन्द सत्रमा कुरा राख्नसकिन्थ्यो उहाँले भन्नुभयो, तर उद्घाटन सत्रमै विरोध गर्नु मर्यादा विपरीतको कार्य हो ।’ नगर प्रहरी र नगर सभा सदस्यहरुबीच बाहिर होल्ल्ला भइरहदा भइरहदा नगर सभाको उद्घाटन सत्र जारी नै राखिएको थियो ।
