निजगढ/बारा, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले आगामी आथिक वर्षको लागि अत्यन्त न्यून बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को बजेटमा प्राथमिकताका साथ राखिएको यो आयोजनामा बजेट भने नाम मात्रको राखिएको छ । बजेट भाषणमा भनिएको छ, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, बस्ती स्थानान्तरण, मुआब्जा वितरण, जग्गा संरक्षणलगायत पूर्व तयारीका लागि बजेट छुट्याइएको छ, लगानी मोडालिटी तय गरी विमानस्थलको निर्माण कार्य अगाडि बढाइने छ ।’
बजेटमा आगामी आर्थिक वर्षका लागि मात्र ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो आयोजनामा चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमा ५६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । तर, खर्च भने ४ करोड २० लाख रुपैयाँ मात्र हुने सरकारको संशोधित अनुमान छ । आयोजनामा आर्थिक वर्ष २०७८÷७९ मा भने ३६ लाख रुपैयाँ खर्च भएको थियो ।
निजगढ विमानस्थलको पहिलो चरणको काम गर्न समेत सवा एक खर्ब भन्दा माथि बजेट लाग्ने अनुमान छ । तर, सरकारले हरेक वर्ष छुट्याउने केही करोड रुपैयाँ बजेटले आयोजना जीवित छ भन्ने सन्देश मात्र दिने खोजेको देखिन्छ । यो आयोजना सरकारले आफ्नै स्रोतबाट अगाडि बढाउने तयारी गरेपनि आँट भने गरिसकेको छैन । काठमाडौं विमानस्थल घना बस्ती नजिकै रहेको र पूर्ण क्षमतामा चलिसकेका कारण यसको विकल्पमा नयाँ विमानस्थलको आवश्यक छ ।
सरकारले राष्ट्रिय गौरवमा समेटेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०७१÷७२ बाट बजेट विनियोजन सुरु गरेको थियो । त्यसयता हरेक बजेटमा नछुटेको यो आयोजना कार्यान्वयनमा भने सरकारले प्रगति देखाउन सकेको छैन । वातावरणका मुद्दा उठेसँगै सर्वोच्च अदालतसम्म पुगेको यो आयोजना पुनः अगाडि बढाउन बाटो खुला छ ।
