नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु), युवा संघ र रिटर्नी फेडरेशनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । शुक्रबार निजगढको शहित चोक अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्नेमाग गर्दै राके जुलुस निकालेको हो ।
सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि मूल्य फिर्ताको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
विरोध सभामा एमाले निजगढका नगर उपाध्यक्ष भोला गौतम, युवा संघ निजगढका अध्यक्ष माधब न्यौपाने र रिटर्नी फेडरेशनका केन्द्रिय उपाध्यक्ष उतम अधिकारी, एमाले नेता जयराम कुवरलगायतले मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् ।
आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको हो ।
सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरे पछि विभिन्न राजनीतिक दल निकट विद्रयार्थी संगठनहरूले विरोध प्रदर्शन गरीरहेका छन्।

