सिमरा,डिभिजन वन कार्यालय बारा मातहातको सब डिभिजन वन कार्यालय पथलैयाले पूर्वश्चिम राजमार्गको छेउमा रहेको दुधौरा खोला किनाराको सुकुम्बासी बस्ति खाली गराउन सूचना जारी गरेको छ । ।
सव डिभिजन वन कार्यालयले ३१ साउनमा सूचना जारी गरेर आफ्नो क्षेत्र अन्तर्गत पर्ने पथलैया समुदायिक वन क्षेत्रको जंगलभित्र दुधौरा खोलाको पश्चिमी किनारामा रहेको बस्ति १५ दिनभित्र खाली गराउन सूचना जारी गरेको हो । वन कार्यालयले जारी गरेको सूचनामा पूर्वमा दुधौरा खोला, पश्चिम पथलैया सामुदायिक वन, उत्तरमा पूर्वपश्चिम राजमार्ग र दक्षिण पथलैया सामुदायिक वन खयरघारी यति चार किल्लाभित्रको वन क्षेत्रमा रहेको बस्ति खाली गर्न भनिएको छ । पत्रमा अगाडि भनिएको छ, ‘केही व्यक्तिहरुले वन ऐन नियम विपरित अनियमित रुपमा वन अतिक्रमण गरी घर छाप्रो टहरा बनाएर बसोबास र पसल संचालन गरेको देखिन आएकोले सूचना टाँस भएको मितिले १५ दिनभित्र घर छाप्रो टहरा हटाई लैजानु ।
वन कार्यालयले दिएको म्यादभित्र बस्ति खाली नगराए घर, छाप्रो र टहरामा प्रयोग भएका काठ लगायतका मालवस्तु जफत गरी सो कार्यमा संलग्न व्यक्तिहरुलाई वन ऐन नियम बमोजिम कारबाही गर्ने सब डिभिजन वन कार्यालय पथलैयाका प्रमुख ललन राउत कुर्मीद्धारा जारी सूचनामा चेतावनीसमेत दिइएको छ ।
डिभिजन वन कार्यालय बाराका डिएफओ विनोद सिंहले जिल्लाका विभिन्न क्षेत्रमा वन क्षेत्र अतिक्रमण खाली गराउने अभियानअन्तर्गत दुधौरा खोला किनाराको बस्ति हटाउने तयारी गरिएको बताउनुभएको छ । उहाँले बस्तिमा बसोबास गर्नेहरुको अवस्था बारे थप अध्ययन भइरहेको र सबै विवरण प्राप्त भएपछि कारबाही सुरु गरिने बताउनुभयो । उहाँले स्थानीय तहसंग सहकार्य गरेर बस्ति खाली गराइने पनि बताउनुभयो ।
खोलामा ढुङ्गा, गिटी, बालुवा संकलन गर्ने सुकुम्बासीहरुको बसोबास रहेको सो बस्तिमा सुरुमा थोरैले मात्रै बसोबास गरेको भएपनि हाल बस्तिमा ३ दर्जनभन्दा बढी घरधुरी रहेका छन । उनीहरु २०५० सालदेखि बस्तिमा बस्दै आएका हुन ।
