निजगढ नगरपालिकाले सार्वजनिक गर्ने तयारी गरेको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको बारेमा नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटीले नगर प्रमुख सुरथ पुरीलाई हिजो ध्यानाकर्षण पत्र बुझाएको छ । माओवादीको निजगढ नगर अध्यक्ष सन्तोष दङ्गाल नेतृत्वको टोलीले मेयर पुरीको कार्यकक्षमै पुगेर पत्र बुझाएको हो । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सार्वाजनिक गर्ने तयारी भइरहेको बेला माओवादी केन्द्रले सोमा समावेश गरिनुपर्ने योजनाको बारेमा सुझावसहित पत्र बुझाएको हो । मेयर पुरीलाई बुझाइएको पत्रमा.माओवादीले सामान्य प्रशासन र सेवा प्रवाह, राजस्व तथा आन्तारिक प्रशासन, स्वास्थ्य सेवा, कृषि तथा पशुपंक्षी, भूमि व्यवस्थान तथा भवन निर्माण, वन तथा वातावरण, न्याय कानुन, मानवअधिकार तथा सुशासन प्रवर्धन, उद्योग तथा रोजगार, सहिद परिवार, जेष्ठ नागरिक तथा एकल महिला सम्मान लगायत १ दर्जनभन्दा बढी विषयहरुमा सुझाव दिएको छ । पत्रमा निर्माणाधिन फास्टट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम विधुतीय रेल मार्ग र निजगढ स्मार्ट सिटी जस्ता योजनालाई व्यवस्थित र दिगो बनाउन आवश्यक रहेको भन्दै सोको लागि नगरकार्यपालिकाले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ स्पष्ट रुपमा शंवोधन गरिनुपर्ने पनि उल्लेख छ । टोलीमा सो पार्टीको मधेस प्रदेश कमिटी सदस्य रवि दङ्गाल ,धनमाया लामा, पार्टी नगर सचिव रमेश अर्याल, जिरिमाया बल, कुमार लामा योन्जन, राजकुमार कार्की, सुदर्शन थपलिया, सबिना थापा, यतिराज सापकोटा, तुलसी कडेल, मोहन डिसी, रमेश गौतम लगायत सहभागी थिए । ध्यानाकर्षण पत्र बुझ्दै मेयर पुरीले सुझावको रुपमा आएका कतिपय राम्रा विषयहरुलाई नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो । नगरपालिका कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा जेष्ठ ९ गते प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ ।
