निर्माण कम्पनीको लापरबाहीले निजगढ नगरपालिका वडा नम्बर ५, ६, ७ र ९ मा निर्माणाधिन स्मार्ट सिटी सडक अलपत्र परेको छ । निर्माण कम्पनी बज्रगुरु कन्ट्रक्शन काठमाण्डौंले निर्माण सम्पन्न नहुदै सडक निर्माण कार्य रोकेपछि निजगढका ३ वटा वडालाई जोडने करिव ७ किमी कालोपत्रे सडक अलपत्र परेको हो । सहरी विकास तथा पूर्वाधार मन्त्रालय अन्तर्गतको आर्थिक सहयोगमा वडा नम्बर ७ को पूर्वपश्चिम राजमार्गबाट लिचीटोल, भ्याकुरेटोल हुदै वडा नम्बर ६ को धियाल टोलबाट योजना टोल भएर वडा नम्बर ५ को गैरीगाउँसम्मसम्म पुग्ने र वडा नम्बर ९ को बकैया भमरा तेर्सो लाइनको निर्माणाधिन सडकमा ४ वर्षदेखि अलपत्र परेको हो । सहरी विकास कार्यालय वीरगन्जले ठेक्का लगाएको सो सडकमा निर्माण कम्पनीले ३ पटक म्याद थपेर पनि बेस राख्ने र केही भागमा पेटी तथा नाला निर्माणको काम बाहेक थप काम हुन सकेको छैन । पेटीसहित पक्की नाला र कालोपत्र सडक निर्माण गर्न कम्पनीले १२ करोड रुपैयामा ठेक्का सकार गरेको थियो । पटकपटक तागेता गर्दा पनि निर्माण कम्पनीले काम सुरु नगरेको निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो । उहाँले अलपत्र सडकका कारण धुलो उडेर आसपासका बासिन्दा समस्यामा परेको सुनाउनुभयो ।
