निजगढ, केही दिनयता बढेको गर्मी नघटेपछि निजगढ नगरपालिकाले यसअघि गरेको विद्यालय बिदाको अवधि थप गरेको छ । निजगढ नगरपालिकाका अधिकृत रविन घिमिरेले शनिवार सूचना जारी गर्दै यसअघि शुक्रवारसम्मको लागि दिइएको बिदाको अवधि थप गरेर जेष्ठ २३ गतेसम्मको लागि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा बिदा गरिएको जनाइएको छ ।
अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको र पठनपाठक कार्यसमेत प्रभावित बनेपछि विद्यालय बन्दको अवधि थप गरिएको सूचनामा उल्लेख छ । यसअघि निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम लामिछानेले गत बुधवार सूचना जारी गर्दै गर्मीका कारण जेष्ठ १८ र १९ गते पठनपाठन बन्द गर्ने जनाउनुभएको थियो ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाले पनि शनिवार नै सूचना जारी गरेर गर्मीका कारण जेष्ठ २३ गतेसम्म शिक्षण संस्थाहरु बन्द हुने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले सूचना जारी गर्दै यसअघि जेष्ठ २० गतेसम्मको लागि दिइएको बिदाको अवधि थप गरी जेष्ठ २३ गतेसम्मको लागि बिदा गरिएको जनाइएको छ । यसअघि जीतपुरसिमराले पनि जेष्ठ १८ गतेदेखि हिजोसम्मको लागि मात्र बिदा घोषणा गरेको थियो ।
