सिमरा, वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने बारा र पर्साका स्थानीय तहले करको दरमा एकरुपता ल्याउने भएका छन् । सो करिडोरमा पर्ने वीरगञ्ज महानगरपालिका, जीतपुरसिमरा उपमहानगर र परवानीपुर गाउँपालिकाले अगामी आर्थिक वर्षको लागि करको दरमा एक रुपता ल्याउने भएका हुन् ।
वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको कार्यकक्षमा शुक्रवार बसेको बैठकमा ३ वटै पालिका प्रमुखहरुले अगामी आर्थिक वर्ष २०८०÷०८१ मा करको दरका एकरुपता ल्याउने सहमति जनाएका छन् । साथै त्यसका लागि तिन सदस्यीय कार्यदल समेत गठन गर्ने निर्णय भएको जीतपुरसिमरा उपमहान राजस्व शाखामा रामप्रसाद शर्माले जनाउनुभएको छ । समितिमा जीतपुरसिमरा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख शर्मा र परवानीपुर गाउँपालिकाका राजस्व शाखा प्रमुख कृष्णप्रसाद यादव सदस्य छन् ।
कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन उपयूक्त देखिन्छ भन्नेबारे अध्ययन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । कार्यदलले अध्ययन गरेर प्रतिवेदन दिएपछि पुनः बैठक बसेर त्यसबारेमा थप निर्णय लिइने जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनुभयो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनैवटा सरकारले यहाँका उद्योगी–व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एकरुपता ल्याउन खोजिएको बताउनुभएको छ । महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जीतपुरसिमराका प्रमुख पौडेल, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, परवानीपुर गाउँपालिकाका प्रमुख राम क्षेत्री कुर्मी, वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार लगायत सहभागी भएका थिए ।
