कोल्हबी नगरपालिकाले बकैया खोलाबाट नदीजन्य पदार्थ (रोडा, ढुङ्गा, ग्रेभल र बालुवा) बिक्री वितरण र संकलनको लागि लगाएको ठेक्का सकारेको ठेकदार कम्पनीले अनियमित रुपमा उत्खनन गरेपछि बारा प्रहरीले बुधवार दिउसो तीन वटा जेसिबी नियन्त्रमा लिएको छ । निजगढ नगरपालिकासंग सीमा जोडिएको बकैया खोलामा ढुङ्गा, गिटी र बालुवा अनियमित रुपमा उत्खनन गरेको पाइएपछि प्रहरीले बा ३ क ३३०८, बा १ क ८०८० र बा ३ क ३१०८ नंम्बरको जेसिबी खोलबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको जेसिबी जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ राखिएको छ । नम्बर प्लेट समेत नराखी अबैध उत्खनन भईरहेको जानकारीमा आएकोले ईलाका प्रहरी कार्यालय निजगढ र ट्राफिक प्रहरी कार्यालय निजगढबाट गएको संयुक्त टोलीले जेसिबी नियन्त्रणमा लिएको थियो । ठेक्का संझौताअनुसार कोल्हबी नगरपालिकाले बा ३ क ३२२ र ना. १ क ८१८४ नम्बरको दुई जेसिबीलाई मात्र खोलामा उत्खनन अनुमति दिएको भएपनि ठेकदारले ४ वटासम्म जेसिबी प्रयोग गरेर अवैध उत्खनन गर्दैआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रुपेशकुमार ठाकुरले बताउनु भएको छ । यसअघि पनि अवैध उत्खननको आरोपमा प्रहरीले छ वटा ट्रिपर नियन्त्रणमा लिएर डेढ लाख जरिवाना तिराएको छोडेको थियो । खोला उत्खननका लागि प्रसाई सेवा कोल्हबी, रियान्स निर्माण सेवा कोल्हबी, सिद्धार्थ निर्माण सेवा काठमाण्डौ र रामदुलारी कन्सन्सट्रक्सन कोल्हबीले यस वर्ष ढुङ्गा, गिटी, बालुवाको लागि चार करोड रुपैयामा ठेक्का सकार गरेको थियो । कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले ठेकदारले बदमासी गरेको स्वीकार गर्दै आफुले पटक पटक अनुगमन गरेपनि जिल्ला समन्वय समितिले अनुगमन नगरेका कारण ठेकेदार कम्पनीले मनोमानी गरेको बताउनुभयो । अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले हालसम्म एक पटक मात्र अनुगमन गरेको चौधरीले बताउनुभयो ।
