४ दिनअघि आएको हावा हुरीले केराको बोट ढलेपछि बाराको निजगढका किसानहरुको करोडौं मूल्य बराबरको क्षति भएको छ । मंगलवार साँझ आएको हुरीले पाक्न लागेको केराको बोट ढालेर नष्ट गरेपछि किसानहरुलाई क्षति पुगेको हो ।
निजगढका किसानले रोपेकोे केरामध्ये करिव ७० प्रतिशत केरा हुरीले ढालेर नष्ट पारेको निजगढ ९ का किसान माधव न्यौपानेले बताउनुभयो । आफूले खेती गरेको १५ बिघा मध्ये ५० देखि ९० प्रतिशतसम्मको केरा बालीमा क्षति भएको न्यौपानेले बताउनुभयो । उहाँले आफ्नो मात्रै ४० लाखभन्दा बढी मूल्यको केरामा नोक्सानी भएको बताउनुभएको छ । न्यौपानेका अनुसार निजगढका अन्य किसानको केराबालीमा पनि हुरीले उत्तिकै क्षति भएको छ ।
सरकारले यो वर्ष केराबाली हुने नोक्सानीमा बिमाको व्यवस्था नगरेकाले किसानहरु थप मार्कामा परेको अर्का किसान मानबहादुर श्रेष्ठ बताउनुहुन्छ । सबै कागजपत्र तयार पारेर बुझाउदा पनि कम्पनीले यसपटक केरा खेतिको बिमा गर्न नमानेको उहाँको भनाइ छ । केराको बिमा गर्ने पोलिसी नभएकोले बताउदै कम्पनीले बिमा नगरेको हो ।
अघिल्लो वर्ष हुरीले क्षति पुर्याएपछि किसानले बिमा कम्पनीसंग क्षेतिपुर्ति बापत ठुलो धनराशी दाबी गरेपछि कम्पनीले केराको बिमा गर्ने पोलिसी रोकेको किसानहरुको भनाइ । निजगढमा ५ सयभन्दा बढी किसानले सयौं हेक्टर जमिनमा खेरा खेती गर्दै आएका छन । अन्य बालीभन्दा केरामा राम्रो आम्दानी हुने भएपछि किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन । तर हावाहुरीका कारण स्थानीय किसानले मार्का बेहोर्नुपर्ने आवस्था छ ।
