बसन्त लामा/सिंगौल, निजगढ नगरपालिका वडा नम्बर २ र ३ स्थित सिङ्गौलमा खानेपानीको अभाव हुन थालेको छ ।
सुक्खा मौसमको सुरुवातसंगै घरमा जडान गरेको धारामा खानेपानी आउन छाडेपछि स्थानीय उपभोक्ताले अभाव बेहोर्नु परेको हो । लामो समयसम्म वर्षा नहुदा जमिनमूनिको पानीको श्रोत घट्दै गएको र डिप बोरिङ्ग तथा खोलाको ट्याङ्कीबाट आपूर्ति हुने पानी पनि कम भएकोले सिंगौलमा पिउने पानीको अभाव सृजना भएको स्थानीय रामगोपाल धामीले बताउनुभयो ।
सुख्खा मौसमको सुरुवात भएपछि स्थानीयले प्रयोग गर्ने पानीको स्रोत सुक्न थालेको हो । पानी कम आउन थालेपछि दुई तले र तिन तले घर भएका केही उपभोक्ताहरुले मोटरको प्रयोग गरेर घरको छतमा जडान गरिएको टयांकीमा पानी तान्न थालेका छन । मोटरले पानी तान्न थालेपछि अन्य सर्वसाधारण उपभोक्ताहरुको धारा पानी कम आउन थालेको छ ।
सिंगौल वडा नम्बर १ मा पनि उपभोक्तहरुले प्रयोग गर्दैआएको डिप बोरीङमा समेत पानीको तह घटेको र तातो पानी आउन थालेको धामीको भनाइ छ । सिंगौल वडा नम्बर २ र ३ मा संचालनमा रहेको डिप बोरिङबाट मात्र खानेपानी पर्याप्त नहुने भएकोले स्थानीयले वर्षौदेखि गाउँ नजिककै बगर खोलाको पानी समेत प्रयोग गर्दै आएका छन । केही उपभोक्ताहरुले मोटर राखेर पानी तान्न थालेपछि धारामा पानी कम आएर सर्वसाधारण उपभोक्ताहरुलाई पानीको अभाव हुन पुगेको सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण लामिछानेले बताउनुभयो । सिमित व्यक्तिले मोटरले पानी तान्न थालेपछि उत्पन्न भएको खानेपानीको समस्या न्युनीकरण गर्न सकिने अध्यक्ष लामिछानेको भनाइ छ । समितिका पदाधिकारी र उपभोक्ताले साथ दिएको खण्डमा सिंगौलको वडा नम्बर २ र ३ मा खानेपानीको आपूर्ति सहज गर्न सकिने उहाँको भनाइ छ ।
